आठपहरिया भाषाको शब्दकोश

१.१ पृष्ठभूमि

आठपहरिया भाषा धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसबास गर्ने आठपहरिया समुदायले बोल्ने मातृभाषा हो । यस जातिको मूल बसोबास थलो धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारको आसपासको क्षेत्र हो । यो भाषा ताङ्खुवा खोलाभन्दा पश्चिम, हिले गुराँसेभन्दा दक्षिण, बेलाहारा डाँडाभन्दा पूर्व र तमोर नदीभन्दा उत्तरको भूक्षेत्रका किन्ताङ, भिरगाउँ, छारागाउँ, सान्ताङ र बेलाहारामा बसोबास गर्ने आठपहरिया जातिले बोल्ने भाषा हो । टङ्कप्रसाद न्यौपाने (२०४१) ले यस भाषालाई ‘आठप्रे’ नाम उल्लेख गरेका छन् । नेपालको भाषिक सर्वेक्षण गरी तयार पारिएको पुस्तक इथ्नोलगः  नेपालका भाषाहरू (सन् २०१२) मा यस भाषालाई आठपहरिया, आर्थरे, आठप्रे, आठपरे, सानाङ्मो रिङ नाम दिइएको छ । बेलाहारा क्षेत्रमा बोलिने भाषालाई कोडेम्बा (खाल्सा) नाम दिइएको छ । बिकेल (सन् १९९६) ले यस भाषाका वक्ता करिब दुई हजार रहेको उल्लेख गरेका छन् तापनि नेपालको राष्ट्रिय जनगणना (२०६८) मा यस भाषाका वक्ता करिब छ हजारको हाराहारीमा रहेको उल्लेख पाइन्छ ।  इथ्नोलग (सन् २०१२) मा यस भाषालाई लोपोन्मुख तथा सङ्कटापन्न भाषाका रूपमा परिचय दिइएको छ । चिनियाँ तिब्बती परिवारको भोटबर्मेली शाखाअन्तर्गत हिमाली क्षेत्रको पूर्वी वर्गमा पर्ने यस भाषालाई केही भाषाविदले धनकुटा जिल्लाको सदरमुकामभन्दा  पश्चिममा बोलिने बेलहरिया भाषा अन्तर्गत पर्ने एउटा हाँगो मानेका छन् तापनि बिकेल (सन् १९९६) को अध्ययन अनुसार यी दुवै भाषा बिच परस्पर बोधगम्यता छैन । पाँच स्वर वर्ण र २८ ओटा व्यञ्जन वर्ण रहेको यस भाषाका भाषिकाबारे टङ्कप्रसाद न्यौपाने (२०५८) ले सामान्य सङ्केत गरेका छन् ।

यस भाषाको ध्वनितत्त्व एवं व्याकरण निर्माणका लागि, शब्द निर्माण, साहित्य लेखन,  लोक साहित्य संरक्षण, लोकमान्यता एवं जातीय रीतिरिवाज पहिचान तथा संरक्षण गर्दै आठपहरिया बालबालिकालाई यसै मातृभाषामा साक्षर गराउन मातृभाषा शिक्षाका निम्ति यस भाषालाई मानकीकरण गर्नुपर्ने हुन्छ । आठपहरिया भाषाको शब्दकोश निर्माण महत्त्वपूर्ण कार्य हो ।  शब्दकोश निर्माण लगायत पाठ सङ्कलन, भाषिक इतिहास  लेखन, व्याकरण निर्माण एवं लेख्य सामग्री सङ्कलनले मात्र लोपोन्मुख अवस्थामा रहेको यस भाषाको संरक्षण र संवर्धन हुन्छ । यसै क्रममा धनकुटा जिल्लामा बोलिने आठपहरिया भाषामा प्रचलित शब्द सङ्कलन गरी कोश निर्माण कार्यमा प्रस्तुत अध्ययन केन्द्रित रहेको छ ।

१.२ समस्या कथन

आठपहरिया  भाषाको शब्दकोश गिर्माणका लागि यस अध्ययनमा निम्नलिखित समस्या रहेको छ :  

(क)      आठपहरिया भाषाको शब्दकोश कसरी निर्माण गर्न सकिन्छ ?

१.३ उद्देश्य 

यस अध्ययनका  निम्नलिखित उद्देश्य रहेका छन् :  

(क) आठपहरिया भाषाको शब्दकोश निर्माण गर्नु ।

१.४ पूर्वकार्यको समीक्षा 

            विभिन्न विद्वानहरूले  आठपहरिया भाषाका केही पक्षको अध्ययन गरेका छन् ।

टंकप्रसाद न्यौपाने (२०४१) ले त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थानमा ‘आठप्रे राईको भाषिक अध्ययन’ शीर्षकको लघु अनुसन्धान प्रतिवेदनमा आठपहरिया जातिले बोल्ने मातृभाषाका केही शब्द सङ्कलन गरेका छन् । साथै उनले यस अध्ययन प्रतिवेदनमा आठपहरिया भाषाका वाक्य दिई ती वाक्यको नेपाली वाक्यसित तुलनात्मक अध्ययन समेत गरेका छन् ।

न्यौपाने (२०५८) ले त्रिभुवन विश्वविद्यालयमा ‘आठपहरिया राईको भाषिक अध्ययन’ शीर्षकको विद्यावारिधि शोधप्रबन्ध प्रस्तुत गरेका छन् । उनले यस अध्ययनमा आठपहरिया जातिको विस्तृत परिचय दिनुका साथै यस भाषामा रहेका वाक्यतत्त्वको नेपाली भाषासित तुलनात्मक चर्चा गरेका छन् । यसका साथै मोरिस स्वाडेसका सय शब्द र तिनको नेपाली अर्थ समेत प्रस्तुत गरेका छन् ।

निरौला (२०५०) ले ‘भिरगाउँ गाउँ जिकास समितिका आठपहरिया जातिको सांस्कृतिक जनजीवन’ शीर्षकको भिलेज प्रोफाइल त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय विकास सेवामा प्रस्तुत गरेका छन् । उनले यस भिलेज प्रोफाइलमा आठपहरिया जातिको पुर्ख्यौली र यस जातिको सांस्कृतिक जनजीवनका बारेमा उल्लेख गरेका छन् ।

लाल-श्याँकरेलु रापचा (२०७२) समूहको सम्पादनमा ‘आठपहरिया-नेपाली-अङ्ग्रेजी शब्दकोश’ प्रकाशन भएको छ । उक्त शब्दकोशमा 'आ' देखि 'ह' वर्णसम्मका शब्द सङ्कलन गरी शब्दकोशीय ढाँचा दिइएको छ । यस शब्दकोशमा करिब चार हजार शब्दलाई प्रविष्टि दिइएको छ । ती शब्दमध्ये कतिपय क्रियामूलबाट बनेका क्रियापदलाई पनि प्रविष्टि दिई धेरै शब्द देखाइएको छ । 

आशा राई (२०७३) ले ‘आठपहरिया भाषा र नेपाली भाषाका वाक्यगठनको व्यतिरेकी अध्ययन’ शीर्षकको स्नातकोत्तर शोधपत्र धनकुटा बहुमुखी क्याम्पसमा प्रस्तुत गरेकी छन् । उनले यस शोधपत्रमा आठपहरिया भाषा र नेपाली भाषाका वाक्यगठनको तुलनात्मक अध्ययन गरेकी छन् ।

उपर्युक्त अध्ययनमध्ये रापचा समूह (२०७२) को अध्ययनले शब्दकोश निर्माणको स्वरूप प्रस्तुत गरेको छ तर आठपहरिया किराँत समुदायको आधिकारिक संस्था र आठपहरिया भाषीका अनुसार उक्त शब्दकोशमा धेरै शब्द छुटेका छन् । आठपहरिया भाषामा प्रयोग हुँदै नहुने शब्द पनि समावेश गरिएका छन् । शब्दकोशमा क्रियापदका रूपावलीलाई प्रविष्टि दिनु वैज्ञानिक मानिदैन र यसरी तयार पारिएको शब्दकोश वैज्ञानिक शब्दकोश हुँदैन । रापचा समूहले तयार पारेको शब्दकोशमा क्रियाका रूपावलीलाई नै प्रविष्‍टि दिइएको छ र कोशविज्ञानको नियम पालना गरिएको छैन । प्रस्तुत कोश तयारी कार्यमा क्रियाका रूपावलीको प्रविष्टि दिइएको छैन । सकभर शब्द नछुटून् भन्ने सचेतताका साथ शब्द सङ्कलन गरिएका छन् र करिब चार हजार पाँच सय शब्द सङ्कलन गरी तिनै सङ्कलित शब्दलाई कोशीय ढाँचामा प्रविष्टि दिई तिनको आई.पी.ए. मा उच्चारण तथा नेपाली अर्थ दिइएको छ ।

१.५ अध्ययनको महत्त्व 

कुनै पनि भाषाको आआफ्नै महत्त्व हुन्छ । आठपहरिया भाषाको अध्ययन तथा शब्दकोश निर्माणले यस भाषाको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने छ र मातृभाषा शिक्षामा सकारात्मक वातावरण निर्माण गर्ने छ। लोपोन्मुख अवस्थामा रहेको यस भाषाको संरक्षण तथा विकासका निम्ति शब्दकोश निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। आठपहरिया भाषाको शब्दकोश निर्माणको महत्त्वलाई यसप्रकार उल्लेख गरिएको छ :

१.५.१ बौद्धिक वर्गका निम्ति महत्त्व

विगत एक दशकदेखि नेपालका भाषाहरूको समाज भाषावैज्ञानिक अध्ययन हुँदै आएको छ । यस प्रकारको अध्ययनले भाषिक अध्येताहरू तथा सम्बन्धित मातृभाषीलाई प्रत्यक्ष फाइदा पुग्दछ । प्रस्तुत अध्ययनमा गरिएको आठपहरिया भाषाको शब्दकोश लेखनबाट यस भाषाको अध्ययन तथा अनुसन्धानमा लागेका अनुसन्धानकर्तालाई प्रत्यक्ष फाइदा पुग्दछ। यो भाषा हालसम्म लेख्य रूपमा विकसित छैन र यस भाषाको निजी लिपि पनि विकास भएको छैन । किराँतहरूले प्रयोगमा ल्याउने सिरिजङ्गा लिपिका माध्यमबाट लेखन कार्य गर्दा अध्ययनमा कठिनाइ हुने भएकाले यस अध्ययनमा देवनागरी लिपि नै प्रयोग गरी आठपहरिया भाषाको शब्दकोश निर्माण गरिएको छ ।  यसबाट आठपहरिया भाषामा पठनपाठन गर्ने बालबालिकाका निम्ति महत्त्वपूर्ण सामग्री बन्ने छ । यस भाषाका बारेमा चासो राख्ने ठपहरिया इतर भाषिक समुदायका निम्ति पनि यो शब्दकोश महत्त्वपूर्ण सामग्री बन्ने छ ।

१.५.२  आठपहरिया समुदायका वक्तालाई अभिप्रेरणा 

समाज भाषावैज्ञानिक अध्ययनले भाषाको जीवन्तता र मानकीकरणको विकासलाई महत्त्व  दिन्छ । यस अध्ययनले आठपहरिया भाषामा साहित्यका विभिन्न विधा लेख्न, पाठ्यपुस्तक लेख्न, अन्य भाषामा लेखिएका ग्रन्थलाई आठपहरिया भाषामा उल्था गर्न र विभिन्न ज्ञानविज्ञान शास्त्रका कुरा आठपहरिया भाषामै लेख्न यस भाषाका वक्तालाई अभिप्रेरणा प्रदान गर्दछ । 

१.६ सीमाङ्कन

यस  अध्ययनमा आठपहरिया भाषालाई नेपालमा बोलिने स्वतन्त्र भाषाका रूपमा राखेर अध्ययन गरिएको छ । ध्वनितात्त्विक अध्ययन, वर्ण निर्धारण, शब्द सङ्कलन, पाठ सङ्कलन, इतिहास लेखन, शब्दकोश निर्माण, व्याकरण निर्माण लेख्य सामग्री सङ्कलन आदि भाषिक अध्ययनका विभिन्न पक्षहरू भए तापनि आठपहरिया भाषामा बोलिने शब्द सङ्कलन गरी कोश निर्माणमा मात्र सीमित रहनु यस अध्ययनको सीमा रहेको छ ।

१.७ अध्ययन विधि

यस अध्ययनमा सामग्री सङ्कलन र विश्लेषण गरी दुई ओटा कार्यका लागि निम्नलिखित विधि प्रयोग गरिएको छ :  

(क) सामग्री सङ्कलन 

प्रस्तुत अध्ययन क्षेत्रीय कार्यअन्तर्गत स्थलगत अवलोकनमा आधारित छ । आठपहरिया भाषाशब्द खोजीका निम्ति क्षेत्रीय अनुसन्धान विधि प्रयोग गरिएको छ । यस अध्ययनमा आठपहरिया भाषाको मूल बस्ती क्षेत्र, आठपहरिया भाषा समुदायको भौगोलिक, आर्थिक, सांस्कृतिक, धार्मिक, रीतिरिवाज, जनजीविका, शिक्षा, पर्व आदि विभिन्न क्षेत्रका शब्द सङ्कलन गर्न सम्बद्ध जनसमुदायलाई नै प्रत्यक्ष भेट गरी क्षेत्रीय अनुसन्धान विधि प्रयोग गरिएको छ । साथै समाजसेवी सूर्यबहादुर आठपहरिया, शिक्षक आशा राई लगायतका आठपहरिया भाषीबाट शब्द सङ्कलन गरिएको छ । 

(ख) सामग्री व्यवस्थापन

अध्ययनको उद्देश्य प्राप्तिका निम्ति सङ्कलित शब्दलाई भाषावैज्ञानिक सफ्टवेयर टुलबक्स प्रयोग गरी व्यवस्थापन गरिएको छ। आठपहरिया भाषासँग सम्बद्ध लिखित सामग्रीको अध्ययन, शोध अध्ययन प्रतिवेदनको समीक्षा, विज्ञहरूसितको विचार विमर्शलाई प्रयोग गरी सङ्कलित सामग्रीलाई व्यवस्थापन गरिएको छ ।

१.८ अध्ययन प्रतिवेदनको रूपरेखा  

परिच्छेद एक :  परिचय 

परिच्छेद दुई : आठपहरिया भाषाको शब्दकोश

परिच्छेद तीन : उपसंहार तथा निष्कर्ष 

परिशिष्ट  

सन्दर्भ सूची                      

परिच्छेद दुई

आठपहरिया भाषाको  शब्दकोश

२.१ पृष्ठभूमि

यस अध्यायमा आठपहरिया भाषामा बोलिने शब्द सङ्कलन गरी शब्दकोश तयार पारिएको छ । यस क्रममा दिक् काल, भूगोल खगोल, समय, मनुष्य वर्ग, मानिसका पेसा, व्यवसाय, भाषा र विचारका शब्द, विश्वास र भावनासित सम्बन्धित शब्द, धन सम्पत्ति सम्बन्धी शब्द, मानव शरीरका अङ्ग, रोग र उपचारका शब्द, गृह वर्ग, गाउँ सहरसित सम्बन्धित शब्द, भाँडाकुँडा, हातहतियार, बाजागाजा, खानपान, पहिरन तथा लुगाफाटो, गरगहना, लेखपढ सम्बन्धी शब्द, घरपालुवा पशु र तिनका अङ्ग, वन्यजन्तु र तिनका अङ्ग, घरेलु पक्षी, अन्य पक्षी, किराफट्याङ्ग्रा, बोटबिरुवा, फलफूल, अन्नपात, खेतबारी, यातायात, आकारप्रकार, मानवीय विशेषण र अवस्था, वस्तुको सङ्ख्या र परिमाण, सर्वनाम, स्थानवाचक अव्यय, कालवाचक अव्यय, परसर्ग\ परस्थानिक (नामयोगी), विस्मयादिबोधक र निपात र मनुष्यका पारस्परिक कार्यसित सम्बन्धित शब्द र तिनका नाम, विशेषण तथा क्रिया यस शब्दकोशमा दिइएका छन्।

२.२ शब्द सङ्कलन

शब्दार्थविज्ञानलाई आधार बनाएर आठपहरिया भाषाका सूचकहरूबाट उनीहरूको आफ्नै भाषामा भन्न लगाई उपर्युक्त सबै क्षेत्रका करिब पाँच हजार शब्द सङ्कलन गरिएको छ । 

२.३ सङ्कलित शब्दको व्यवस्थापन

सङ्कलित शब्दलाई भाषावैज्ञानिक सफ्टवेयर टुलबक्सको माध्यमबाट सूचीबद्ध गरी व्यवस्थापन गरिएको छ। यस क्रममा पहिले आठपहरिया भाषाका शब्द, त्यसपछि अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमाला (IPA)  मा शब्दको उच्चारण, नेपालीमा पदकोटि र ती शब्दको नेपालीमा अर्थ दिइएको छ ।

२.४ आठपहरिया भाषाको शब्दकोश

शब्दकोश पृष्‍ठ ६ देखि क्रमशः उल्लेख गरिएको छ ।